गोरखा । फाल्ने गरेका प्लास्टिकजन्य फोहर र पुराना सामग्रीबाट पनि उपयोगी वस्तु बनाउन सकिन्छ भन्ने सन्देशसहित आरुघाट गाउँपालिकामा ‘बेकारबाट आविष्कार’ तालिम सञ्चालन गरिएको छ।
शान्ति नेपाल, सामुदायिक रूपान्तरणका लागि स्वास्थ्य परियोजनाको आयोजनामा वडा नं. ८ स्थित दरबार माध्यमिक विद्यालय र वडा नं. ७ को सातदोबाटेमा तीन/तीन दिन तालिम सञ्चालन गरिएको हो।
तालिममा ४० जना सहभागी भएका थिए। उनीहरूलाई प्लास्टिकका बोतल, पुराना बोरा तथा अन्य प्रयोगविहीन सामग्रीबाट गमला, कुचो, झाडु, फूल, डोरी, कलमदानीलगायत सजावट तथा उपयोगी सामग्री बनाउन सिकाइएको थियो।
काम नलाग्ने वस्तुलाई पुनः प्रयोगमार्फत उपयोगी सामग्रीमा रूपान्तरण गर्दै स्थानीयस्तरमै फोहर व्यवस्थापन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना व्यवस्थापक इन्द्रमान शाक्यले जानकारी दिनुभयो।
तालिममा सहभागीहरूले निर्माण गरेका सामग्री आरुघाट गाउँपालिकामा सञ्चालन भइरहेको शैक्षिक मेलामा समेत प्रदर्शनी गरिएको छ। यसले फोहर व्यवस्थापनसँगै पुनः प्रयोग र सिर्जनशीलताको महत्वलाई समेत उजागर गरेको छ।
प्रतिक्रियाहरू (0)