रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
अन्य

गोरखा सिंगिङ आइडल सिजन–१ को उपाधि रक्तिम थापा मगरलाई, मिडिया पार्टनर रिसर्च गोरखा सम्मानित !!

गोरखा सिंगिङ आइडल सिजन–१ को उपाधि रक्तिम थापा मगरलाई, मिडिया पार्टनर रिसर्च गोरखा सम्मानित !!

गोरखा सिंगिङ आइडल सिजन–१ को उपाधि रक्तिम थापा मगरलाई, मिडिया पार्टनर रिसर्च गोरखा सम्मानित


गोरखा । दारी ग्याङ गोरखाको आयोजनामा सञ्चालन भएको ‘गोरखा सिंगिङ आइडल सिजन–१’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि रक्तिम थापा मगरले जितेका छन्।


गोरखा सदरमुकामस्थित गोरखकाली चलचित्र मन्दिरमा आयोजित भव्य फाइनल प्रतिस्पर्धामा पाँच जना प्रतिभाशाली प्रतिस्पर्धीबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो।


प्रतियोगितामा रक्तिम थापा मगर प्रथम हुँदै ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भए। त्यसैगरी प्रकाश सुनार द्वितीय हुँदै २५ हजार रुपैयाँ, सौगात गुरुङ तृतीय हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। दुवैले नगद पुरस्कारसँगै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन्।


त्यस्तै, युसुफ अनसारी चौथो भएका छन् भने एलिसा पुलामी मगरले पनि ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।


यस प्रतियोगितामा विशेषगरी आरुघाट गाउँपालिकाका दुई प्रतिभाले उल्लेखनीय सफलता हासिल गरेका छन्। द्वितीय स्थान प्राप्त गर्ने प्रकाश सुनार र प्रतियोगितामा सहभागी एलिसा पुलामी मगर दुवै आरुघाट गाउँपालिकाका हुन्। उनीहरूको सफलताले आरुघाटको स्थानीय प्रतिभालाई जिल्लास्तरीय मञ्चमा थप परिचित गराएको छ।


कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ विशेष अतिथिका रूपमा उपस्थित भएका थिए। उनले प्रतियोगीहरूलाई शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान र प्रोत्साहनका लागि आयोजना गरिएको कार्यक्रमको प्रशंसा गरेका थिए। यस्ता कार्यक्रमले युवाहरूको प्रतिभा प्रस्फुटन गर्न र सांगीतिक क्षेत्रमा अघि बढ्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको थियो।


उक्त प्रतियोगितामा रिसर्च गोरखा आधिकारिक मिडिया पार्टनरका रूपमा जोडिएको थियो। प्रतियोगिताको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमार्फत सञ्चार साझेदारी गर्दै आएको रिसर्च गोरखालाई आयोजक दारी ग्याङ गोरखाले कार्यक्रमका क्रममा विशेष सम्मान गरेको छ। सञ्चारमाध्यममार्फत कार्यक्रमलाई साथ र सहयोग पुर्‍याएको कदरस्वरूप रिसर्च गोरखालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।


स्थानीय युवाहरूको सक्रिय पहलमा आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य गोरखा जिल्लाभित्र लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय तथा व्यावसायिक सांगीतिक क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्नु रहेको थियो।


१५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको कार्यक्रममा टिकट खरिद गरी प्रवेश गर्ने दर्शकलाई एउटा रेडबुलसमेत निःशुल्क उपलब्ध गराइएको थियो।


स्थानीय प्रतिभा, कला र संगीतलाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा आयोजित गोरखा सिंगिङ आइडलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले जिल्लाको सांगीतिक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।